छुटेका नेतालाई समेटेर अघि बढ्छु : गगन थापा
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेटेर अघि बढ्ने बताउनुभएको छ ।
‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि आफ्नो समितिभित्र नरहेका नेताहरूलाई सम्मानजनक रूपमा जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“१४औँ महाधिवेशनबाट निर्वाचित नेताको ठूलो पङ्क्ति बाहिर छ । उहाँहरूलाई केन्द्रीय समिति र अन्य संरचनामा समेटेर सँगै काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।
सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तय भइसकेको जानकारी दिँदै प्रेमबहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको बताउनुभयो । आवश्यक परे अन्य नेताहरूलाई पनि समितिमा समेट्न आफू तयार रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति गठन गरिएको उल्लेख गर्दै त्यसमा पनि थप सदस्य राख्न सकिने उहाँले बताउनुभयो । अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरिरहेको जानकारी दिँदै सभापति थापाले पार्टीभित्र अवसर वितरणमा कुनै विभेद नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले देशभरका क्रियाशील सदस्यलाई पार्टी सदस्यता अद्यावधिक गर्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा महामन्त्री पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकार छोटो समयमै प्रश्नको घेरामा पर्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता संवेदनशील निकायलाई प्रधानमन्त्री केन्द्रित नबनाउन सुझाव दिनुभयो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा विज्ञ संविधानविद्को नेतृत्वमा सुझाव आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानका व्यवहारिक कमजोरीलाई केन्द्रमा राखेर राष्ट्रिय बहस आवश्यक रहेको बताउनुभयो ।
कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेललगायतले समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे धारणा राख्नुभएको थियो

