प्रधानमन्त्रीको पोस्टपछि डिडीसीको याक चिजको माग बढ्यो
काठमाडौं, जेठ ३ । प्रधानमन्त्री वालेन्द्र शाह ले सामाजिक सञ्जालमा डिडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि याक चिजको माग उल्लेख्य रूपमा बढेको छ ।
दुग्ध विकास संस्थान (डिडीसी) का अनुसार देशभरका बिक्री केन्द्रबाट विस्तृत विवरण आउन बाँकी रहे पनि हालसम्म याक चिजको माग करिब २५ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रधानमन्त्री शाहले शनिबार दिउँसो १ बजेर ४३ मिनेटमा फेसबुकमार्फत डिडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गर्नुभएको थियो । उक्त पोस्टपछि बिक्री केन्द्रहरूमा उपभोक्ताको चासो र भीड बढेको डिडीसीका शाखा अधिकृत तथा काठमाडौं बजार व्यवस्थापन शाखा प्रमुख चूडामणि आचार्यले जानकारी दिनुभयो ।
डिडीसीले रसुवा, दोलखा, रामेछाप, सोलुखुम्बु, इलाम र पाँचथरलगायत जिल्लाबाट चौँरीको दूध सङ्कलन गरी याक चिज उत्पादन तथा बिक्री गर्दै आएको छ । संस्थानका अनुसार देशभरका १४ वटा चिज उत्पादन केन्द्रमध्ये ८ वटा केन्द्रबाट याक चिज उत्पादन भइरहेको छ । वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने डिडीसीको तथ्यांक छ ।
संस्थानले शनिबार र आइतबार याक चिजसँगै अन्य दुग्धजन्य उत्पादनप्रति पनि उपभोक्ताको आकर्षण बढेको जनाएको छ ।देशभरका बिक्री केन्द्रको विस्तृत माग तथा बिक्री विवरण सोमबार प्राप्त हुने बताइएको छ ।
प्रधानमन्त्री शाहले फेसबुक पोस्टमा “से चिज, डिडिसीको चिज अर्थात् चिज भन्नुस्” भन्ने सन्देश राख्नुभएको थियो । आइतबार साँझसम्म उक्त पोस्टमा ४ लाख ६६ हजारभन्दा बढी लाइक, ४६ हजारभन्दा बढी प्रतिक्रिया तथा ४ हजारभन्दा बढी शेयर प्राप्त भएको जनाइएको छ ।प्रधानमन्त्रीले पोस्टमार्फत “डिडीसी नेपाल सरकारको संस्था हो” भन्ने सन्देशसमेत दिनुभएको थियो । सामाजिक सञ्जालबाट भएको प्रवर्द्धनपछि याक चिजको माग बढे पनि उत्पादन तथा आपूर्तिमा कुनै समस्या नरहेको डिडीसीले जनाएको छ ।

