जन्मकैद सजाय पाएकी नुवाकोटकी एक महिला सुन्धारा कारागारबाट फरार



काठमाडौं,जेठ ३ । जन्मकैदको सजाय भुक्तान गरिरहेकी एक महिला सुन्धारा कारागारबाट फरार भएकी छन् । फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ ।

सुन्धारा कारागारका प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङ शुक्रबार राति करिब १ बजेतिर कारागारबाट भागेकी हुन् । उनले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

तामाङ चोरी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जन्मकैदको सजाय भुक्तान गरिरहेकी थिइन् । यसअघि पनि जेनजी आन्दोलनका क्रममा उनी फरार भएकी थिइन् । त्यसबेला दुई महिनापछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनापछि कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेका छन् । सुन्धारा कारागारको सुरक्षा व्यवस्थापन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्