नुवाकोट शिवपुरीमा दिउँसै चोरी



नुवाकोट,जेठ ४ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडास्थित सन्तबहादुर तामाङको घरमा दिउँसै चोरी भएको छ।

आइतबार करिब बेलुका ४ बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै छहरेस्थित अस्थायी प्रहरी टोली घटनास्थल पुगेको र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोलीसमेत खटिएको जनाइएको छ।

प्रहरीका अनुसार घरमा कोही नभएको समयमा घरको मूल ढोका फुटाएर तामाङका दुई घरमा चोरी गरिएको हो। चोरीमा करिब २७ हजार रुपैयाँ नगद तथा अन्दाजी साढे दुई तोला सुन चोरी भएको प्रारम्भिक विवरण आएको छ।

घटना छहरे–टोखा सडक खण्डअन्तर्गत सडक नजिकै भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्