कलाकार संघमा उत्तम केसीको नेतृत्व, नयाँ कार्यसमिति चयन



काठमाडौं,जेठ ४ । नेपाल चलचित्र कलाकार संघको २१औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्षमा उत्तम केसी विजयी भएका छन् ।

कुल खसेको ३ सय ५६ मतमध्ये केसीले २ सय १६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सविन श्रेष्ठ ले १ सय ३२ मत प्राप्त गरेका थिए ।

आगामी चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा शिवहरी बैरागी र पुजना प्रधान विजयी भएका छन् । शिवहरी बैरागीले १ सय ४६ तथा पुजना प्रधानले १ सय ४४ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदका अन्य उम्मेदवार उद्धव भट्टराईले १ सय ७, पनाह अधिकारीले १ सय ३५, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत प्राप्त गरे ।महासचिवमा सुनील कटवाल १ सय ९५ मतसहित विजयी भए ।

उनका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीले १ सय २५ मत पाए । सचिवमा गोपाल ढकाल छन्दे २ सय १४ मतसहित विजयी हुँदा पल्पसा डंगोल चम्सुरीले १ सय १० मत प्राप्त गरिन् । कोषाध्यक्षमा तेजुला खतिवडा १ सय ४९ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी पवित्रा आचार्यले १ सय ६ तथा खुश्व खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १ सय ६१ मतसहित विजयी हुँदा गीता नेपालले १ सय ५३ मत पाइन् ।

संघको सदस्य पदमा १० जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा दमन रुपाखेती, इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान शंकर इकु, चन्द्रकला (मोनीका) दाहाल, श्रीदेव भट्टराई र रश्मि भट्ट रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष उत्तम केसीले संघलाई कलाकारहरूको हितमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सबैलाई समेटेर चलचित्र तथा कलाकारिता क्षेत्रको विकासका लागि कार्ययोजनासहित अघि बढ्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्