पश्चिमी वायुको प्रभावः केही प्रदेशमा वर्षा, तराईमा तापक्रम बढ्ने
काठमाडौं,जेठ ४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । मधेश प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

