स्कटल्याण्डविरुद्ध नेपालको कठिन चुनौती, ग्लोबल क्वालिफायर आशा जोगाउने दाउमा



काठमाडौं,जेठ ४ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित जारी शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । तीमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा जित हात पारेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अमेरिकालाई पनि सोही नियममार्फत दुई रनले नै हराएको थियो ।

यता, गत शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गर्दै महत्वपूर्ण जित निकालेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई हराउँदै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ ।

हाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले २६ खेलमध्ये नौ खेल जितेको, १५ खेल गुमाएको तथा दुई खेल अनिर्णित भएको छ । नेपालसँग हाल २० अङ्क रहेको छ । एकदिवसीय मान्यता जोगाउन नेपाल शीर्ष छ भित्र रहनुपर्ने दबाबमा छ भने ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी सबै १० खेल जित्नुपर्ने अवस्था रहेको छ ।

यता स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ खेल जितेको, आठ खेलमा हार बेहोरेको तथा छ खेल अनिर्णित हुँदा कुल ३८ अङ्क जोडेको छ । नेपालका लागि आजको खेल निकै निर्णायक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्