टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती समस्यामा पार्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव



काठमाडौं,जेठ ४ । परराष्ट्रमन्त्री शिशिर खनालले टोखा–छहरे सुरुङमार्ग विस्तारका क्रममा धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्न सक्ने भन्दै यसको विकल्प खोज्न प्रस्ताव गरेका छन् ।

टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले सुरुङमार्ग विस्तारले स्थानीय बस्तीमा असर पुग्ने भएकाले वैकल्पिक मार्गबारे गम्भीर रूपमा सोच्नुपर्ने बताए ।

उनले साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सके कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्न सकिने धारणा राखे । मन्त्री खनालका अनुसार यस्तो विकल्पले स्थानीय बस्ती जोगाउनुका साथै व्यवस्थित शहरी विकासमा पनि सहयोग पुग्नेछ ।

काठमाडौं क्षेत्र नम्बर–६ का सांसदसमेत रहेका खनालले टोखाको दक्षिणी भेग अत्यधिक बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन रहेको उल्लेख गर्दै योजनाबद्ध शहरीकरण आवश्यक रहेको बताए । उनले दीर्घकालीन सोचका साथ विकासका योजना अघि बढाउन स्थानीय सरकारलाई आग्रह गरे ।

मन्त्री खनालले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले टोखामा ‘होमस्टे’ विकासको राम्रो सम्भावना रहेको पनि बताए ।कार्यक्रममा हरिप्रभा खड्गी श्रेष्ठले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन् । उनले विकास निर्माणका काममा राजनीतिक हस्तक्षेप हुन नहुने धारणा व्यक्त गरिन् ।

पूर्वमन्त्री वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार स्थानीय सरकारले कानुन निर्माण र कार्यान्वयनमा सक्रिय हुनुपर्ने बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकबाट प्राप्त सुझावका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिए ।

हाल करिब एक लाख ३७ हजार जनसङ्ख्या रहेको टोखा नगरपालिकामा ११ वटा वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्