घरभित्रै धारिलो हतियार प्रहार गरी ४५ वर्षीय पुरुषको हत्या
कञ्चनपुर,जेठ ४ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ रकुनी टोलमा एक पुरुषको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सोमबार बिहान स्थानीय ४५ वर्षीय लीलाराम सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोमबार बिहान सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी सुनारकी श्रीमतीले सोमबार बिहान करिब ७ बजे गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । त्यसपछि आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जनाएको छ ।

