संसद् बैठकमा श्रम संस्कृति पार्टीको विरोध, प्ले कार्ड देखाउँदै वेलतर्फ जान खोज्दा रोकिए



काठमाडौं,जेठ ४ । प्रतिनिधिसभाको आजको बैठकमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारविरुद्ध विरोध जनाएको छ ।बैठक सुरु हुनासाथ पार्टीका सांसदहरूले आफ्नो स्थानबाट उठेर सरकारको विरोधमा लेखिएका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए ।

सांसदहरू सभामुखको वेलतर्फ जान खोजेपछि मर्यादापालकले उनीहरूलाई रोकेको थियो । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले उक्त विरोधप्रति ध्यानाकर्षण गराउँदै पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको टिप्पणी गर्नुभयो ।

सभामुख अर्यालले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन निर्देशनसमेत दिनुभयो । यसअघि पनि श्रम संस्कृति पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएको भन्दै गत वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।

आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश तथा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्