नुवाकोटको एसईई नतिजा : कुन पालिकाको कति प्रतिशत विद्यार्थी उत्तीर्ण?



नुवाकोट,जेठ ४ । नुवाकोट जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समग्र नतिजा सार्वजनिक भएको छ । शिक्षा, युवा तथा खेलकुद समन्वय इकाई नुवाकोटले जिल्लाभरको नतिजा सार्वजनिक गर्दै यस वर्ष ६३ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको हो ।

सार्वजनिक नतिजाअनुसार जिल्लाबाट ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । यसलाई जिल्लाको शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ ।

स्थानीय तहगत रूपमा हेर्दा विदुर नगरपालिकाले सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ । विदुर नगरपालिकामा ८२ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यता, सबैभन्दा कम नतिजा आउने स्थानीय तहमा तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका रहेका छन् । तारकेश्वर गाउँपालिकामा ३४ दशमलव २८ प्रतिशत तथा किस्पाङ गाउँपालिकामा ३३ दशमलव १३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

शिक्षा क्षेत्रका सरोकारवालाले जिल्लामा समग्र नतिजा सुधारका लागि शिक्षक, अभिभावक र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्