स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा
काठमाडौँ, जेठ ४ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको एक सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । जितसँगै नेपालले २७ खेलबाट २२ अङ्क जोड्दै सातौँ स्थानबाट पाँचौँ स्थानमा फड्को मारेको छ । स्कटल्यान्ड भने ३१ खेलबाट ३८ अङ्कसहित शीर्षस्थानमै रहेको छ ।
नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । रोहितले अविजित ७४ रन बनाउँदै टोलीलाई जितसम्म पुर्याउनुभयो । उहाँले ९८ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । इशानले ६१ बलमा ५५ रन बनाउँदा पाँच चौका र दुई छक्का हाने ।
ओपनर आशिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रनको योगदान दिए । आरिफ शेख आठ रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट हुनुभयो । स्कटल्यान्डका मार्क वाटले दुई विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा एक सय ९४ रनमै समेटिएको थियो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । माइकल इङ्ग्लिसले ५१ रन जोडे ।
नेपालका लागि ललित राजवंशीले चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्नुभयो । सन्दीप लामिछानेले तीन विकेट लिनुभयो भने दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए । उत्कृष्ट बलिङ गरेका ललित खेलको उत्कृष्ट खेलाडी घोषित भए । यस खेलमा तीन विकेट लिएसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमानसमेत बनाउनुभएको छ । उहाँले ७३ खेलमा एक सय ५० विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोड्नुभयो । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।
अब नेपालले यस शृङ्खलाको अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन नेपालले बाँकी सबै नौ खेल जित्नुपर्ने अवस्था रहेको छ । एकदिवसीय मान्यता जोगाउन भने नेपाल शीर्ष ६ भित्र रहन आवश्यक छ ।

