औषधी पसलमै ठूलो मात्रामा लागुऔषध
धनुषा,जेठ ४ । धनुषामा एक औषधी पसलबाट ठूलो मात्रामा लागुऔषध बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका अनुसार धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित समीक्षा हेल्थ केयरबाट लागुऔषधसहित सन्तोषकुमार विश्वकर्मालाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार जनपद प्रहरी र लागुऔषध ब्युरो शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको संयुक्त टोलीले औषधी पसल तथा घर कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध बरामद गरेको हो ।
बरामद गरिएका औषधीमा ट्यापेन्टाडोल ५० एमजीका एक हजार ७०० पिस, स्पासरेस्ट १०० एमजीका एक हजार ५९० पिस, ट्यापेन्टाडोल १०० एमजीका एक हजार २०० पिस, ट्रामाडोल ५० एमजीका १०० पिस, ट्रामाडोल एनाट्रामका २९ पिस, एन्टिकोफका ५०० पिस, स्पासपेनका ५०० पिस तथा स्पाज्मो २० एमजीका ३०० पिस रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका सबै औषधी गरी कुल पाँच हजार ९१९ पिस लागुऔषध फेला परेको छ । खानतलासीका क्रममा घरको भुइँतलाको पछाडिपट्टि रहेको कोठामा कार्टुन तथा प्लास्टिकको पोका भित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका विश्वकर्मा गणेशमान चारनाथ नगरपालिका–१ निवासी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

