नुवाकोटको घ्याङस्वारा पर्यटन पार्कमा तेस्रो पटक चिया टिपाइ सम्पन्न
नुवाकोट,जेठ ४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित घ्याङस्वरा पर्यटन पार्कमा लगाइएको चियाबगानमा तेस्रो पटक चिया टिपाइ सम्पन्न गरिएको छ। स्थानीय उत्पादन प्रवर्द्धन, आन्तरिक रोजगारी सिर्जना तथा पर्यटनसँग जोडिएको कृषि विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाले चिया खेतीलाई अगाडि बढाएको जनाएको छ।
पञ्चकन्या गाउँपालिकाको पहलमा सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा रोजगार सेवा केन्द्रका रोजगार संयोजक सरोज केसी सरोवर, रोजगार सहायक सुरेन्द्र लामा, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा सूचीकृत बेरोजगार नागरिकहरूको सहभागिता रहेको थियो।
चिया टिपाइ कार्यक्रममा सहभागीहरूले सामूहिक श्रम गर्दै “काम सानो–ठूलो हुँदैन” भन्ने सन्देश दिएका थिए। गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यअनुसार दुई जना सूचीकृत बेरोजगार नागरिकलाई प्रत्यक्ष रूपमा उक्त कार्यमा संलग्न गराइएको जनाएको छ।
पर्यटनसँगै कृषि उत्पादनको केन्द्रका रूपमा घ्याङस्वरा पर्यटन पार्क क्षेत्रको विकास गर्ने लक्ष्यसहित केही वर्षअघि चिया खेती सुरु गरिएको थियो। चियाबोटबाट उत्पादन दिन थालेपछि नियमित रूपमा चिया टिपाइ हुँदै आएको गाउँपालिकाले जनाएको छ। यसअघि दुई पटक चिया टिपाइ भइसकेको र यस पटक तेस्रो चरणको चिया टिपाइ सम्पन्न गरिएको हो।
संकलन गरिएको चियालाई प्रशोधनका लागि ककनीस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मा लगिने जनाइएको छ। त्यहाँ प्रशोधन प्रक्रिया पूरा भएपछि तयारी चियाका रूपमा उत्पादन गरिने गाउँपालिकाले जानकारी दिएको छ।
स्थानीय स्तरमै उत्पादन र प्रशोधनको अभ्यासले कृषि क्षेत्रको व्यावसायीकरण, स्थानीय रोजगारी सिर्जना तथा गाउँपालिकाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। साथै, पर्यटन पार्क क्षेत्रमा गरिएको चिया खेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले आगामी दिनमा चिया खेतीलाई थप विस्तार गर्दै स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी बजारसम्म पुर्याउने योजना रहेको जनाएको छ।

