नुवाकोटमा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने



नुवाकोट,जेठ ४ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता आगामी जेठ २९, ३० र ३१ गते नुवाकोटको विदुर नगरपालिका मा आयोजना हुने भएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर को अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले प्रतियोगिता नुवाकोटमा गर्ने निर्णय गरेको हो । लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ तथा उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष थापाले बताइन् ।

गत वर्ष चितवनमा भव्य रूपमा सम्पन्न भएको प्रतियोगिता यस वर्ष ऐतिहासिक तथा सांस्कृतिक भूमि नुवाकोटमा हुन लागेको उनले उल्लेख गरिन् । प्रतिष्ठानका अनुसार विदुर नगरपालिकामा आयोजना हुने प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै देशभरबाट सहभागी हुने कलाकारहरूबीच सिर्जनात्मक तथा उत्कृष्ट प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विस्तृत कार्यतालिका तथा पुरस्कार राशिसम्बन्धी जानकारी प्रतिष्ठानले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्