नुवाकोटमा विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि महायज्ञ आयोजना
नुवाकोट,जेठ ४ । नुवाकोटको ककनी गाउँपालिका–५ पौताथोकस्थित श्री बिरेन्द्र आधारभूत विद्यालय मा विद्यालयको भौतिक पूर्वाधार निर्माण सहयोगार्थ पुरुषोत्तम मास महायज्ञ तथा धार्मिक महोत्सव आयोजना हुने भएको छ।
विद्यालयका प्रधानाध्यापक सन्तोष भेटुवालका अनुसार यही जेठ ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने “श्री पुरुषोत्तम मास महायज्ञ तथा विविध धार्मिक महोत्सव–२०८३” बाट उठेको रकम विद्यालयको भौतिक संरचना निर्माणमा खर्च गरिनेछ।
महायज्ञमा वाचन प्रविण पण्डित अच्युत प्रसाद खनाल को मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुने आयोजकले जनाएको छ। कार्यक्रममा धार्मिक झाँकी, देवीलीला, भजनकीर्तन तथा सन्देशमूलक सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ।
आयोजकका अनुसार दैनिक बिहान ७ बजेदेखि पूजापाठ, बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म कथा प्रवचन, दिउँसो १ बजेदेखि ४ बजेसम्म देवीलीला तथा झाँकी, र साँझ ७ बजेदेखि ९ बजेसम्म भजनकीर्तन तथा महात्म्य वाचन कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमको मूल आयोजक श्री बिरेन्द्र आधारभूत विद्यालय रहेको छ भने सहआयोजकमा जालपा सामुदायीक संस्था, शिलशिला सहयात्रा महिला समूह, जालपा ज्वालादेवी संरक्षण मन्दिर व्यवस्थापन समिति तथा धोक्रे क्रियाशिल महिला समूह रहेका छन्।
आयोजक समितिले धार्मिक महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा आग्रह गरेको छ।

