समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु
काठमाडौं,जेठ ५ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीन वटा सहकारीका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो।
समितिका अनुसार कान्तिपुर सहकारी का २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारी का १५६ जना तथा पशुपति सहकारी का सात जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल को सचिवालयका अनुसार पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको हो।बआगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः सबै बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन्।

