नुवाकोटका पूर्व सांसद लोहनीको खाताबाट दुई लाख ९४ हजार रुपैयाँ चोरी
नुवाकोट,जेठ ५ । नुवाकोटका पूर्व सांसद एवं नेकपाका नेता राजेन्द्रप्रकाश लोहनी को बैंक खाताबाट ह्याकरले दुई लाख ९४ हजार रुपैयाँ चोरी गरेको छ।
लोहनीका अनुसार सोमबार दिउँसो करिब ४ बजे नचिनेको नम्बरबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले आफूलाई बैंकसँग सम्बन्धित बताउँदै बाणिज्य बैंकको केवाईसी (KYC) विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए। सुरुमा आफूले सो बैंकमा धेरै रकम नरहेको बताए पनि “भरेर राख्दा केही फरक पर्दैन” भन्दै विवरण भराउन लगाइएको उनले बताएका छन्।
उनले केवाईसी प्रक्रिया भर्दै जाँदा आफ्नो एनआईसी एशिया बैंक खातामा रहेको करिब दुई लाख ९४ हजार रुपैयाँ चोरी भएको जानकारी दिएका हुन्। साझापथसँगको कुराकानीमा लोहनीले घटना थाहा पाएलगत्तै बैंकलाई जानकारी गराएको र सोमबार नै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिसकेको बताए।
घटनापछि सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेका छन्। उनले “हेर्दाहेर्दै खाताबाट रकम गायब भयो, अब कहाँ र कसलाई भन्ने ?” भन्दै दुःख व्यक्त गरेका छन्। हाल घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ।

