इरानमा पक्राउ परेका नेपाली अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी
काठमाडौं,जेठ ५ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै इरानको किश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परी थुनामा रहेका झासम्बन्धी मुद्दामा निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न उपलब्ध सबै माध्यममार्फत पहल भइरहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार उक्त मुद्दाको निरुपण इरानको कानुनअनुसार हुने भएकाले आवश्यक कानुनी प्रक्रिया तथा निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक प्रयास भइरहेको छ । इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको जानकारी दिँदै मन्त्रालयले यसअघि झा रिहा भएको भन्ने अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योलप्रति क्षमायाचना समेत गरेको छ ।
अमेरिका–इजरायल र इरानबीच २०२६ फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुभन्दा एक महिनाअघि झासहित अन्य छ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले किश्म टापुबाट नियन्त्रणमा लिएका थिए । गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको जानकारी पठाएका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले झा रिहा भएको व्यहोरासहितको प्रतिवेदन परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईलाई बुझाएको थियो । सोही आधारमा मन्त्रालयले झा जेलमुक्त भएको जानकारी सार्वजनिक गरेको जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गर्नुभएको थियो । साथै, झालाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन नेपाली राजदूतावास दोहालाई रिहाइसम्बन्धी लिखित प्रमाण उपलब्ध गराउन निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री, मन्त्रालयका उच्च अधिकारी तथा झाको परिवारबीच भएको भेटमा पनि यसबारे जानकारी गराइएको थियो ।
यसैबीच, झालाई नेपाल ल्याउने आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको भए पनि उनी अझै रिहा नभएको र सम्बन्धित मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको जानकारी यसअघि नै सार्वजनिक गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

