पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिने निर्णय
काठमाडौं,जेठ ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सम्पन्न बैठकले भण्डारीलाई एमालेको सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्ट ले जानकारी दिनुभयो ।
बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, पदाधिकारी र सदस्यहरूको कार्यविभाजनलगायत विषयमा छलफल भएको जनाइएको छ ।
सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पदाधिकारीहरूको वरियताक्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेस गरिएको जानकारी दिँदै नेता भट्टले अर्को सचिवालय बैठक आगामी जेठ ८ गते शुक्रबार बस्ने बताउनुभयो ।

