आजदेखि कर्मचारी खेलकुद
काठमाडौं,जेठ ५ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल इसानको आयोजनामा १५औँ कर्मचारी खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष रामविनय श्रेष्ठका अनुसार प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, कृषि विकास बैंक, नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायु सेवा निगम, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा–प्रतिष्ठान, कृषि सामग्री कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, एभरेस्ट बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा एनसेलको सहभागिता रहनेछ ।
आयोजकका अनुसार प्रतियोगिताले विभिन्न संस्थामा कार्यरत कर्मचारीबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

