जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु
चितवन,जेठ ५ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् । तीनै जना एउटै परिवारका सदस्य हुन् ।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङ का प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको मङ्गलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि परिवारका सदस्य बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।
विद्यालयका अनुसार मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए । मृत बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन् । दुई बालबालिकाको दाहसंस्कार सम्पन्न भइसकेको छ भने आज मृत्यु भएकी मनिताको शव बुझ्ने तयारी भइरहेको प्रधानाध्यापक मगरले जानकारी दिनुभयो ।

