बजेटमा सुदूरपश्चिम र कर्णालीलाई विशेष प्राथमिकता : अर्थमन्त्री वाग्ले
काठमाडौं,जेठ ५ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई आगामी बजेटमा विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कमजोर वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्गको विस्तार गर्न सकिने धारणा राख्नुभयो ।
अर्थमन्त्री वाग्लेले विकासको स्पष्ट मार्गचित्र भए मात्रै योजना प्रभावकारी रूपमा कार्यान्वयन हुने उल्लेख गर्दै पहिलो पटक ‘मिसन मोड’को अवधारणालाई अभ्यासमा ल्याइएको जानकारी दिनुभयो । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्र नभई कार्यान्वयनमा इमान्दार प्रयास आवश्यक रहेको स्पष्ट पार्ने बताउनुभयो ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले सांसदहरूले दिएको सुझाव र धारणालाई समेटेर सङ्घीय संसद् सचिवालयले आवश्यक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा पठाइने जानकारी गराउनुभयो ।
छलफलमा सांसद अर्जुनकुमार कार्कीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा गरिबी तथा गरिब वर्गको विषय समावेश नभएको भन्दै गुनासो गर्नुभयो । सांसद इन्दिरा राना मगरले गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्योपचार र शिक्षा क्षेत्रमा थप प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सांसद योगेश गौचन थकालीले ठूलो सङ्ख्यामा युवाहरू विदेशिने अवस्थाले देशको अर्थतन्त्रमा असर परिरहेको उल्लेख गर्दै युवा पलायन रोक्ने खालको बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।
सांसद क्षितिज थेवेले तमोर जलाशययुक्त आयोजना, अलैँचीको समर्थन मूल्य, जडीबुटी उत्पादन तथा प्रशोधन प्रणाली विकास र किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्न माग गर्नुभयो । सांसद सागर भुषालले विनियोजन विधेयकलाई खर्चको दस्तावेज मात्र नभई आत्मनिर्भरता र समृद्धिको मार्गचित्रका रूपमा व्याख्या गर्नुभयो ।सांसद विक्रम थापाले कृषि, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका विषय समेटिनु सकारात्मक भएको बताउनुभयो ।
यसैबीच सांसद समीक्षा बाँस्कोटा, जगदीश खरेल, प्रशान्त उप्रेती, नरेन्द्रकुमार गुप्ता, अनुष्का श्रेष्ठ, रुक्मिणी देवी कोइराला, अच्युत्तम लामिछाने, भरतबहादुर खड्का, राम लामा, राजन गौतम, श्रद्धा कुँवर श्रेष्ठ र रुकेश रञ्जितलगायतले पनि छलफलमा भाग लिनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।

