पञ्चकन्याको कालिका माविका विद्यार्थीलाई शैक्षिक तथा दैनिक उपयोगका सामग्री वितरण
नुवाकोट,जेठ ५ । जिल्लाको पञ्चकन्या गाउँपालिका-२ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक तथा दैनिक उपयोगका सामग्री वितरण गरिएको छ ।
मंगलबार आयोजित कार्यक्रममा गुड नेबर्सको आर्थिक सहयोग तथा रुडेक नेपालको आयोजनामा विद्यार्थीहरूलाई पुस्तक र्याक, टेबल कुशन, स्टेशनरी सामग्री, विद्यालय पोशाक, जुत्ता, मोजा, ब्रस, मञ्जन, नुहाउने साबुन तथा लुगा धुने साबुन वितरण गरिएको हो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक ध्रुव प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी, रुडेक नेपालका अध्यक्ष मीन कुमार केसी विशेष अतिथि रहनुभएको कार्यक्रममा रुडेक नेपालका रुम टु रिड कार्यक्रम संयोजक सन्तोष खनाल, विद्यालयका शिक्षक–शिक्षिका, रुडेक नेपालका कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रुडेक नेपालका कार्यक्रम संयोजक हरि लामा ले गर्नुभएको थियो।

