प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको शपथ, पदभार ग्रहण पनि आजै
काठमाडौं,जेठ ५ । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्मा ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन् । न्याय परिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशमध्ये संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर, न्यायालयमा स्थापित वरिष्ठताको परम्परा र मर्यादा मिचिएको भन्दै उक्त नियुक्ति सुरुदेखिनै विवादमा परेको छ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश पदकी मुख्य दाबेदार मानिए पनि उनलाई पाखा लगाइएको भन्दै कानुनी वृत्तमा असन्तुष्टि बढेको छ ।
नेपाल बार एसोसिएसन लगायतका कानुनी संस्थाहरूले न्यायालयको स्वतन्त्रता र वरिष्ठताको परम्परामाथि प्रश्न उठाउँदै विरोध प्रदर्शनसमेत गर्दै आएका छन् ।

