बाँदरको आतंकपछि इलाममा बेसार खेतीतर्फ किसान आकर्षित
इलाम, जेठ ६ । जङ्गली जनावरले खेतीबाली नष्ट गर्न थालेपछि इलामका किसान बेसार खेतीतर्फ आकर्षित भएका छन् । कम लगानीमा राम्रो आम्दानी हुने र बाँदर तथा दुम्सीले नोक्सान नगर्ने भएकाले किसान उत्साहित बनेका हुन् ।
रोङ गाउँपालिका–३ का ५५ किसानले इको चिया तथा कृषि सहकारीमार्फत बेसार खेती गरिरहेका छन् । सहकारीले यस वर्ष करिब पाँच हजार किलो बेसार प्रतिकिलो ३२ रुपैयाँका दरले खरिद गरेको जनाएको छ ।
सहकारीका अनुसार उत्पादन भएको बेसार बिउका रूपमा विभिन्न स्थानमा पठाइने तथा बाँकी प्रशोधनका लागि झापा पठाइने गरिएको छ । रोङमा उत्पादन भएको बेसारको नमुना जर्मनीमा समेत राम्रो मानिएपछि अन्तर्राष्ट्रिय बजार खोज्ने पहल थालिएको छ ।
यता, माईजोगमाई गाउँपालिकाले पनि ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत बेसार खेती सुरु गरेको छ । स्थानीय तहले किसानलाई प्रशोधन मेसिनसमेत उपलब्ध गराएको जनाएको छ ।

