फाल्गुनन्दका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको छ : उपराष्ट्रपति यादव
काठमाडौं,कात्तिक २५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।
महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले फाल्गुनन्दका विचार र दर्शन किराँत धर्म, संस्कृति तथा सामाजिक सुधारका महत्त्वपूर्ण ऐतिहासिक आधार रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिविरुद्ध महागुरु फाल्गुनन्दले चलाउनुभएको चेतनामूलक अभियानले नेपाली समाजमा सुधार, आत्मसम्मान र नैतिक जीवनको संस्कार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
धर्मलाई आस्थाको विषयमा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोककल्याणसँग जोड्नुभएका फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।
महागुरु फाल्गुनन्दले मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्दै अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश दिनुभएको स्मरण गर्दै उहाँले फाल्गुनन्दका विचारले विविधताभित्रको एकता, पारस्परिक सम्मान र राष्ट्रिय सहकार्यको भावना सुदृढ बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले आफ्नो भाषा, संस्कृति, सभ्यता र मौलिक परम्पराको संरक्षण गर्दै आधुनिकता र प्रगतिलाई आत्मसात् गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ । फाल्गुनन्द जयन्तीले युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, सामुदायिक नेतृत्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्ने उहाँको विश्वास छ ।
उहाँले महागुरु फाल्गुनन्दको सत्य, सेवा र सदाचारको मार्गले सबैलाई मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय कर्तव्यप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।
साथै राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता सुदृढ हुँदै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा सबैलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । रासस

