एनआरएन चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित
काठमाडौँ, जेठ ६ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको लाइसेन्स (नाम दर्ता किताब) बाट नाम हटाउने निर्णय स्थगित गरेको छ ।
काउन्सिलको गत २९ वैशाखमा बसेको पूर्ण बैठकले यसअघि गरिएको नाम दर्ता खारेजसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । यससँगै सम्बन्धित चिकित्सकहरूको नाम दर्ता किताबमा यथावत् रहने भएको छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विदेशमा रहेका नेपाली मूलका चिकित्सकलाई गैरआवासीय नेपाली चिकित्सकको सूचीमा दर्ता हुन आह्वान गरिने बताउनुभयो । उहाँका अनुसार गैरआवासीय चिकित्सकका रूपमा विधिवत् दर्ता भएपछि मात्रै उनीहरूको नाम नेपाली चिकित्सकको मूल दर्ता किताबबाट स्वतः हट्नेछ ।
यसअघि काउन्सिलले विदेशी राहदानी लिएका चिकित्सकको नाम हटाउने विषयमा दुई पटक सार्वजनिक सूचना जारी गरेको थियो । उक्त निर्णयप्रति विदेशमा कार्यरत नेपाली चिकित्सकहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए ।
यसअघि २०८२ भदौ १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो । सो व्यवस्थाअनुसार विदेशी राहदानी लिएका चिकित्सकलाई एक पटकका लागि ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र उपलब्ध गराएपछि नाम दर्ता सूचीबाट हटाइने व्यवस्था गरिएको थियो ।

