जुनियरलाई प्रधानन्यायाधीश बनाइएपछि सपना प्रधान मल्ल २० दिन बिदामा
काठमाडौं,जेठ ६ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । नयाँ प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्मा नियुक्त भएपछि उनी बिदामा बसेकी हुन् ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको हैसियतमा मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
तर, संवैधानिक परिषद्ले मर्यादाक्रममा आफूभन्दा कनिष्ठ रहेका डा. शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेपछि मल्ल असन्तुष्ट बनेकी थिइन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी सोही दिन पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

