प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं,जेठ ६ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र कसैले पनि त्यसको हनन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले सांसदहरूले दिएका सुझाव र उठाएका प्रश्नलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने बताउँदै सुझावका आधारमा मन्त्रालयका कामलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको उल्लेख गर्दै स्वतन्त्रतासँगै जवाफदेहिता पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले पत्रकारहरूलाई संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गर्दै पेशागत गरिमा र सीमाभित्र रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी त्यसलाई थप प्रभावकारी र सशक्त बनाउँदै नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरवपूर्ण क्षेत्रका रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको जानकारी दिनुभयो ।
मन्त्री तिमिल्सिनाले दुर्गम तथा व्यावसायिक कारोबार बढी हुने क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न बजेट तथा कार्यक्रममार्फत व्यवस्थापन गरिने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले चलचित्र तथा आमसञ्चार क्षेत्रको विकासका लागि मौलिक पहिचान झल्किने चलचित्र निर्माणलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम पनि सरकारले अघि बढाएको जानकारी दिनुभयो । संसद् भवनमा समाचार सङ्कलनका लागि आउने पत्रकारहरूलाई मुख्य भवन बाहिर टेन्ट, बस्ने कुर्सी तथा खानेपानीको व्यवस्था गरिएको उल्लेख गर्दै नयाँ संसद् भवन निर्माण सम्पन्न भएपछि हाल देखिएका समस्या समाधान हुने बताउनुभयो ।

