रोनाल्डोको कीर्तिमानी छैटौँ विश्वकप यात्रा पक्का
काठमाडौं,जेठ ६ । विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । ४१ वर्षका रोनाल्डोलाई फिफा विश्वकप–२०२६ का लागि पोर्चुगल टोलीमा समावेश गरिएको हो ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले सार्वजनिक गरेको टोलीमा रोनाल्डो समावेश भएसँगै उहाँ विश्व फुटबल इतिहासमै छैटौँ पटक विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् । यसअघि पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान समेत उहाँकै नाममा रहेको छ ।
विश्व फुटबलका अधिकांश उपाधि जितिसक्नुभएका रोनाल्डोले अब विश्वकप उपाधि जित्ने लक्ष्य राख्नुभएको छ । हाल साउदी अरेबियाको अल नासर क्लबमा खेलिरहनुभएका रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।
टोली घोषणा गर्दै प्रशिक्षक मार्टिनेजले रोनाल्डो पोर्चुगल टोलीका प्रेरणादायी कप्तान भएको बताउनुभयो । उहाँले रोनाल्डो अनुशासन, जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो ।आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा पोर्चुगल समूह ‘के’ मा रहेको छ । यस समूहमा डिआर कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् ।
पोर्चुगलले नेपाली समयअनुसार असार ३ गते डिआर कंगोसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । यसपटक पहिलो पटक ४८ टोलीबीच विश्वकप प्रतिस्पर्धा हुँदैछ ।

