मलेसियाविरुद्ध नेपालको कठिन जित



काठमाडौं,जेठ ६ । मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ ।

क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हराएको हो । जितका लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३२ रन बनाउनुभयो । रुवि पोदारले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि नुर कवाल्शाले तीन विकेट लिनुभयो । अल्सा एलिसा र एल्सा हन्टरले दुई–दुई तथा नुर दानियाले एक विकेट हात पार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले १० रन बनाउनुभयो भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका तर्फबाट पूजा महतोले तीन विकेट लिनुभयो । मनिषा उपाध्याय र रिया शर्माले दुई–दुई तथा कविता कुँवर र सिता रानामगरले एक–एक विकेट लिनुभयो । यससँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

नेपालले मलेसियामै मे २३ देखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेल खेलेको हो ।एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म तथा एसिसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्