स्थानीय सरकारको भूमिका अझ गहन बन्यो : राष्ट्रपति पौडेल



काठमाडौं,जेठ ६ । रामचन्द्र पौडेल ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक र गहन बनेको बताउनुभएको छ ।

सुनसरीस्थित कोशी गाउँपालिका मा निर्माण गरिएको लौकही सिटी हलको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका आधारभूत आवश्यकता र जनचाहनाअनुसार विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति, विकास र सुशासनमार्फत मात्रै संविधान र शासन प्रणालीले राखेको उद्देश्य पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह, सुविधा विस्तार तथा विकास निर्माणका काम प्रभावकारी रूपमा सञ्चालन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सराहनीय रहेको भन्दै उहाँले यसलाई तीनै तहका सरकारबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले सप्तकोशी नदी आसपासको क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटनका दृष्टिले महत्त्वपूर्ण रहेको बताउनुभयो । बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरजस्ता धार्मिकस्थलले यस क्षेत्रको महत्त्व बढाएको उल्लेख गर्दै पर्यटन विकासका लागि सम्बद्ध पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा विस्थापित बनेको बस्ती पुनःस्थापित भई विकासका गतिविधि तीव्र बनेको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीलाई अझ प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्