सीमा विवादका क्रममा आक्रमण, चार घाइतेको हेलिकप्टरबाट उद्धार



काठमाडौँ,जेठ ६— हुम्ला र बाजुराको सीमा क्षेत्रमा प्रहरी चौकी निर्माणका क्रममा भएको विवाद हिंसात्मक बनेपछि घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ को सिमानामा पर्ने लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेका बेला खार्पुनाथ–२ थालीका स्थानीयले आक्रमण गरेको बताइएको छ। घटनामा ६ जना घाइते भएका छन्।

हुम्लाका स्थानीयले उक्त क्षेत्रमा आपसी सल्लाहबिनै प्रहरी चौकी निर्माण गर्न खोजिएको भन्दै यसअघि नै बाजुराको प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराएको हाम्रा संवाददाता नरजङ तामाङले जानकारी दिएका छन्।

आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर, नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मीनु कुँवर र नरबहादुर गुरुङलाई निजी कम्पनीको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेशको सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी घाइतेहरूको उद्धार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्