गङ्गादशहरामा गोसाइँकुण्डमा विशेष मेला, पाँच हजार भक्तजन पुग्ने अनुमान



रसुवा,जेठ ७— हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन पुग्न थालेका छन् ।

यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामा का अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री गोसाइँकुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएपछि भगवान् शिवले उक्त विष कण्ठमा धारण गर्नुभएको धार्मिक विश्वास छ । त्यसपछि उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभएको मान्यता रहिआएको छ ।

विषको ताप सहन नसकेपछि भगवान् शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको र त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ । यही कारण गोसाइँकुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जलका रूपमा लिने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुने तथा जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।

समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्ने यात्रुहरू बताउँछन् । काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ ।

धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड पुगिन्छ । यात्रुहरूका अनुसार उकालो चढ्दा सास फेर्न कठिन भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ ।

बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेको तथा खान–बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामा बताउनुहुन्छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम ले जेठ ९ देखि १२ गतेसम्म विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने जानकारी दिनुभयो ।
यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापा ले बताउनुभयो ।

लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग अनुकूल बनाउन सुझाव दिएका छन् । अदुवा, कागती, लसुन र बिरेनुन साथमा लैजान, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न तथा हतार नगरी बिस्तारै उकालो चढ्न आग्रह गरिएको छ । पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालय संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाह ले बताउनुभयो ।

धार्मिक विद्वानहरूका अनुसार भगवान् शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गर्नुभएको स्मरणस्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । गहिरो श्रद्धा, हिमाली वातावरण र मन्त्र उच्चारणको गुञ्जनले गोसाइँकुण्डलाई आत्मशुद्धि, आस्था र अध्यात्मिक जागरणको तीर्थस्थल बनाएको पुरोहित उपेन्द्र मिश्र ले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्