मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाको व्यापक तयारी



काठमाडौँ,जेठ ७ । नेपाली सेनाले मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि यसवर्ष विस्तृत पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको छ । विगतका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभवका आधारमा तयार गरिएको योजनामा सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँगको समन्वयलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विपद्को समयमा तत्काल परिचालन गर्न सकिनेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो उद्धार कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टर तथा अन्य हवाई साधन तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ भने सातै प्रदेशमा परिचालन गर्न सकिने अन्य हवाई साधन काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना पनि रहेको सेनाले जनाएको छ ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक–एक सेट ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ । साथै, आवश्यकता अनुसार तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा राखिएको सेनाले जनाएको छ ।
विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोली गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ । उक्त टोलीलाई हवाई साधनमार्फत तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ । प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

त्यसैगरी, पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र ‘अपरेटर’सहितका सवारीसाधन तयारी अवस्थामा राखिएको छ ।
नेपाली सेनाले विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट सम्भव नहुने भन्दै स्थानीय समुदाय र सरोकारवाला निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय र स्थानीय समुदायको सहभागितामा तयारीलाई थप प्रभावकारी बनाइएको सेनाको भनाइ छ ।

यसैक्रममा सेनाको नेतृत्वमा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा ‘अभ्यास हातेमालो’ नामक केन्द्रीय तहको एकीकृत अभ्यास सञ्चालन गरिएको थियो । नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा सञ्चालन गरिएको उक्त अभ्यासमार्फत विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा समन्वयलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो ।

स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ । यस्ता अभ्यासले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीचको सहकार्य थप बलियो हुने विश्वास गरिएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत ले प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि संयुक्त अभ्यास तथा आवश्यक समन्वयमार्फत योजनाको सफल कार्यान्वयन गरी जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभयो ।

मनसुनजन्य विपद्को चुनौती बढ्दै गएको वर्तमान अवस्थामा सेनाले गरेको व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्