नुवाकोट ट्राफिक कार्यालयले भन्यो- “१० दिनभित्र कागजपत्र फिर्ता लैजानु”
नुवाकोट,जेठ ७— जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा ट्राफिक कारबाहीका क्रममा नियन्त्रणमा लिइएका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान सम्बन्धित व्यक्ति तथा सवारी धनीलाई आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको जरुरी सार्वजनिक सूचनामार्फत ट्राफिक नियम उल्लंघन गरी २४ घण्टे पुर्जी पाएका तर तोकिएको समयभित्र जरिवाना रकम दाखिला नगर्ने सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र जरिवाना तिरेर कार्यालय वा मातहतका शाखाबाट आफ्ना कागजपत्र फिर्ता लैजान अनुरोध गरेको हो ।
ट्राफिक चेकिङका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लूबुक) लगायतका कागजपत्र हालसम्म सम्बन्धित व्यक्तिहरूले नलगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकाल ले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाहीमा परेकाहरूलाई १० दिनभित्र कानुनी दायित्व पूरा गरी सम्भावित निलम्बन तथा थप झन्झटबाट बच्न आग्रह गर्नुभयो ।
प्रहरी निरीक्षक ढकालद्वारा हस्ताक्षरित सूचनामा तोकिएको अवधिभित्र पनि जरिवाना नबुझाई कागजपत्र फिर्ता नलगेमा कानुनी रूपमा थप कदम चालिने उल्लेख गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) अनुसार त्यस्ता कागजपत्र बढीमा एक महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था रहेकाले सोहीअनुसार प्रक्रिया अगाडि बढाइने ट्राफिक कार्यालयले जनाएको छ ।

