जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी
पाल्पा,जेठ ७ । पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँ ओमभञ्ज्याङ नजिकैकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जंगली च्याउ सेवनपछि बिरामी परेका उनीहरूको तानसेनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार बालकुमारी खाम्चाको बुधबार र विनिमाया कामु मगरको मंगलबार मृत्यु भएको हो ।
जिल्लामा जंगली च्याउ खाँदा दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन् । तानसेन नगरपालिकाका ८ वर्षीय बालक र रम्भा गाउँपालिकाको ताहुँकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको जनाइएको छ ।बालकको लुम्बिनी मेडिकल कलेजको आइसियूमा तथा महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै माथागढी गाउँपालिका–३ कसेनीका चार जनालाई उपचारपछि केही दिनअघि लुम्बिनी मेडिकल कलेजबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । तानसेनको भालुवनका चार जना भने अझै मिसन अस्पतालमा उपचाररत छन् ।
उता निस्दी गाउँपालिका–४ झ्याटुङमा पनि जंगली च्याउ सेवनपछि बिरामी भएका दुई जनाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

