जनज्ञान निकेतनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित
नुवाकोट,जेठ ७ । जिल्लाको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन विद्यालयमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) र आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ।
बिहीबार आयोजित सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा शिवपुरी गाउँपालिका–८ का वडा सदस्य अक्कल बहादुर तामाङको सभापतित्व रहेको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया प्रमुख अतिथि तथा वडा नं. ८ का वडाध्यक्ष केशव प्रसाद रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि थपलियाले एसईई (SEE) परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै विषयगत रूपमा सतप्रतिशत नतिजा ल्याउन सफल तथा उत्कृष्ट GPA सहित विद्यार्थी उत्तीर्ण गराउने शिक्षक र कर्मचारीलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
सम्मान कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, शिक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
यस वर्ष जनज्ञान निकेतनबाट २५ जना विद्यार्थी SEE परीक्षा उत्तीर्ण भएका छन्।

