उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई जनज्ञान निकेतनको सम्मान
नुवाकोट, जेठ ८— शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) तथा आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ।
बिहीबार विद्यालयमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा शिवपुरी गाउँपालिका–८ का वडा सदस्य अक्कल बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो।कार्यक्रममा गोविन्द प्रसाद थपलिया प्रमुख अतिथि तथा वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष हरिप्रसाद सिटौला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको हातबाट एसईई (SEE) परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो भने उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। साथै शिवपुरी गाउँपालिकाभित्र विषयगत रूपमा शतप्रतिशत नतिजा तथा उत्कृष्ट GPA सहित विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक तथा कर्तव्यपरायण कर्मचारीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको बताएका थिए। विद्यालयका निवर्तमान अध्यक्ष हरिप्रसाद सिटौलाको पहलमा विद्यालय बस सञ्चालन, होस्टेलसहित अध्ययनको व्यवस्था, अतिरिक्त कक्षा सञ्चालन, नयाँ स्कुल बस व्यवस्थापन लगायतका विभिन्न सुधारका कार्य सम्पन्न भएको जानकारी दिइएको थियो।

