स्वच्छ र समुन्नत प्रदेश निर्माणमा केन्द्रित कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
मोरङ,जेठ ८ । कोशी प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ ले प्रदेशसभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा नेपालको सामाजिक रूपान्तरण, लोकतन्त्र तथा नागरिक अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै घाइते तथा बेपत्ता योद्धाको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरिएको छ ।
प्रदेश प्रमुख खापुङले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने दीर्घकालीन सोचसहित कोशी प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले नीतिगत, कानुनी तथा संस्थागत सुधारमार्फत प्रदेशलाई सबल, सक्षम र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रममा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक–सामाजिक रूपान्तरण तथा सङ्घीय प्रणालीको संस्थागत विकासलाई प्राथमिकतामा राखिएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको कोशी प्रदेशमा समावेशी विकास र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व तथा समन्वयलाई सुदृढ गर्दै दिगो, सन्तुलित र समावेशी विकासमार्फत सङ्घीयताको सुदृढीकरण गर्ने नीति सरकारको रहेको उल्लेख गरिएको छ । संविधानको मर्मअनुसार लोकतान्त्रिक मूल्यमान्यता र नागरिक अधिकारको संरक्षण गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग सहकार्यलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सूचना प्रविधि तथा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।सार्वजनिक–निजी साझेदारीमार्फत लगानी विस्तार, पर्यटन पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक उत्पादनको बजार विस्तार र निर्यात प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य तय गरिएको छ ।त्यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गरिने तथा कार्यक्रम कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री ‘ड्यासबोर्ड’ प्रणालीलाई सशक्त बनाइने जनाइएको छ ।
नीति तथा कार्यक्रममा मन्त्रालय तथा सरकारी निकायको पुनःसंरचना, संगठन तथा व्यवस्थापन सर्वेक्षण, कर्मचारी व्यवस्थापन सुधार तथा सेवा प्रवाहलाई क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गरिने उल्लेख गरिएको छ । साथै चिया तथा कफीको अन्तरराष्ट्रियस्तरको गुणस्तर कायम गरी निर्यात प्रवद्र्धन गर्ने, चिया परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउने तथा अन्तरराष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने योजना पनि समेटिएको छ ।

