डुबानको त्रासमा सुस्ता, भारतीय नम्बर प्लेटका गाडीले राजस्व गुम्दै
नवलपुर, जेठ ८ — मनसुन नजिकिँदै जाँदा नवलपरासीको सुस्तावासीमा डुबानको त्रास बढेको छ । गत वर्ष नारायणी नदी बस्तीमा पसेपछि यस वर्ष पनि उस्तै अवस्था दोहोरिने चिन्ता स्थानीयमा छ । डुबानको जोखिमका कारण सुस्तास्थित सशस्त्र प्रहरी बलको बिओपीले उद्धारका लागि डुङ्गा तयारी अवस्थामा राखेको छ ।
सशस्त्र प्रहरीका अनुसार चार–पाँच फिटसम्म पानी जम्ने भएकाले डुङ्गाबिनै आवतजावत गर्न कठिन हुने गरेको छ । सुस्तामा जनशक्ति अभाव रहेको भन्दै दरबन्दी बढाउनसमेत माग गरिएको छ ।
यता, सुस्तामा अधिकांशले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्ने गरेका छन् । भारतसँग कारोबार र आवतजावत सहज हुने भएकाले नेपाली नम्बर प्लेटका सवारी प्रयोग गर्न कठिन रहेको स्थानीयको भनाइ छ । यसका कारण नेपालले सवारी तथा भन्सार राजस्वसमेत गुमाउँदै आएको छ ।

