अवरोधबीच विधेयक पारित
काठमाडौँ, जेठ ८ । प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बिहीबार पनि सदन अवरुद्ध गरेका थिए ।
प्रतिपक्षी सांसदहरूले रोस्ट्रम अगाडि नाराबाजी गरिरहेकै अवस्थामा सभामुख डोलप्रसाद अर्याल ले बैठकको कार्यसूची अघि बढाउनुभएको थियो । अवरोधकै बीच तीन वटा विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथिको दफाबार छलफल प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमा दर्ता भएका छ संशोधनमध्ये दुई सांसदले संशोधन फिर्ता लिएका थिए । प्रतिपक्षी दलका अधिकांश सांसदहरूले भने छलफलमा भाग लिएनन् ।
प्रतिनिधि सभा नियमावलीको प्रश्नोत्तर व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले विरोध जनाएका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था पालना नभएको आरोप लगाएका छन् ।
अवरोधकै बीच प्रतिनिधि सभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

