एकै दिन २७४ आरोही सगरमाथा शिखरमा



काठमाडौँ, जेठ ८ । वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथा को चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार यो संख्या नेपाली पर्वतीय पर्यटन इतिहासमै एकै दिनमा भएको सबैभन्दा ठूलो आरोहण हो ।

सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार पछिल्लो एक सातामा १४० जना आरोही शिखर पुगिसकेकामा बुधबार मात्रै २७४ जनाले सफल आरोहण गरेका हुन् । मौसम अनुकूल रहे आगामी एक साताभित्र थप आरोही शिखरमा पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन्, जुन हालसम्मकै उच्च संख्या हो । विभागका अनुसार नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । सबैभन्दा बढी चीनका १०९, अमेरिकाका ७७ र भारतका ६१ जना आरोही रहेका छन् ।

यसैबीच ल्होत्से मा ५० भन्दा बढी तथा नुप्से मा १६ भन्दा बढी आरोहीले सफल आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्