विषालु च्याउ खाँदा दुई महिलाको मृत्यु
पाल्पा, जेठ ८ । जङ्गली विषालु च्याउ सेवन गर्दा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जङ्गलबाट ल्याइएको च्याउ खाँदा उनीहरूसहित ५० वर्षीया याममाया जर्घा मगर पनि बिरामी परेकी थिइन् । गत जेठ १ गते साँझ च्याउ सेवनपछि वान्ता र झाडापखाला भएपछि तीनै जनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार कामु मगरको जेठ ४ गते र खाम्चा मगरको जेठ ५ गते मृत्यु भएको हो । जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मनसुन नजिकिँदै जाँदा जिल्लामा विषालु च्याउ सेवनबाट एक दर्जनभन्दा बढी व्यक्ति बिरामी परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । निस्दी गाउँपालिका–४ भिरपानीमा पनि विषालु च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेका छन् । उनीहरूलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।
यसैबीच, तानसेनका विभिन्न स्थानमा विषालु च्याउ सेवनबाट बिरामी परेका अन्य केही व्यक्तिहरू उपचारपछि घर फर्किएका छन् भने केहीको अस्पतालमा उपचार भइरहेको छ ।

