अमेरिकामाथि नेपालको सानदार जित, लिग–२ मा महत्त्वपूर्ण ६ अंक
काठमाडौं,जेठ ८ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ ।नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकालाई ४१ ओभर २ बलमा अलआउट गर्दै नेपालले प्रभावशाली जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रन बनाएको थियो । नेपालको जितमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतकीय इनिङ खेले ।
दीपेन्द्रले ३६ बलमा चार चौका र चार छक्कासहित ५९ रन बनाए भने इशानले ८४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ८४ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए भने ओपनर आशिफ शेखले ४३ रन जोडे । कुशल भुर्तेलले २९ रन बनाउँदा गुल्सन झाले १५ रन बनाए । आरिफ शेख १८ रनमा अविजित रहे ।
अमेरिकाका लागि शुभम रञ्जनेले तीन विकेट लिए भने रुसिल उगारकर र मिलन्दु कुमारले एक–एक विकेट हात पारे । जवाफी ब्याटिङमा अमेरिका सुरुदेखि नै दबाबमा देखियो । अमेरिकाका लागि सञ्जयकृष्ण मूर्तिले ४४ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान एक–एक विकेट लिए । लिग–२ को अंकतालिकामा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा कायम छ भने समान २८ खेल खेलेको नेपाल २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । घरेलु मैदानमा भएको यस शृङ्खलाका चार खेलमध्ये तीन खेल जित्दै नेपालले महत्त्वपूर्ण ६ अंक जोडेको छ ।

