शिवपुरीको बोर्लाङ भुमे माविमा नयाँ नेतृत्व चयन
नुवाकोट,जेठ ८ । जिल्लाको शिवपुरी गाउँपालिका–२ स्थित छपमा रहेको श्री बोर्लाङ भुमे माध्यमिक विद्यालय को ५०औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
शुक्रबार भएको भेलाबाट रमेश तामाङको अध्यक्षतामा अभिभावक प्रतिनिधि चयन गरिएको छ। समितिको सदस्यमा प्रदीप तामाङ, सुन्तली श्रेष्ठ र कञ्चना तामाङ चयन भएका छन्।
यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा झलकबहादुर तामाङ चयन हुनुभएको छ। उहाँको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको विद्यालयले जनाएको छ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र समुदायसँगको सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको स्थानीय अर्जुन तामाङले जानकारी दिनुभयो ।

