पशुपतिनाथमा शंकराचार्यको आगमन, काठमाडौँमा भव्य स्वागत
काठमाडौँ,जेठ ८। दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ ।
नेपालको ऐतिहासिक धार्मिक यात्राका क्रममा काठमाडौँ आइपुग्नु भएका शंकराचार्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धालुहरुले भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा धार्मिक झाँकी, फूलमाला तथा जयघोषले विमानस्थल क्षेत्र नै धार्मिकमय बनेको थियो ।
आगमनसँगै उहाँ आजै पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागी हुनुभएको छ । कार्यक्रममा पूजा–आराधना, धार्मिक प्रवचन तथा श्रद्धालुसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
नेपाल भ्रमणका क्रममा उहाँले विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

