संविधान संशोधनमा नागरिकको सुझाव आह्वान
काठमाडौं,जेठ ८ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय–सुझाव माग गरेको छ ।संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले सात दिनभित्र लिखित सुझाव पठाउन आग्रह गरेको हो ।
कार्यदलले संविधान संशोधनसम्बन्धी सुझाव इमेलमार्फत पठाउन सकिने जनाएको छ । यसका लागि [email protected] र [email protected] इमेल ठेगाना उपलब्ध गराइएको छ । यस्तै, ह्वाट्सएपमार्फत सुझाव पठाउन ९८५६०२९९४७ नम्बर पनि सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको उक्त कार्यदलले विभिन्न राजनीतिक दलसँग लिखित सुझाव लिएर छलफल गरिसकेको जनाएको छ ।
कार्यदलले संविधानविद्, कानूनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक, पूर्वकूटनीतिज्ञ, सञ्चारकर्मी तथा राजनीतिक व्यक्तित्वहरूसँग समेत छलफल गरी सुझाव सङ्कलन गरिसकेको बताएको छ ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल र सुझाव सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

