गुट–उपगुट र परिवारवादले कांग्रेस कमजोर बन्यो : गगन थापा
सुनसरी, जेठ ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले गुट–उपगुट र परिवारवादका कारण नेपाली कांग्रेस अहिलेको अवस्थामा पुगेको बताउनुभएको छ।
सुनसरीको लौकहीस्थित सिटीहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन व्यापक अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन संगठनभित्र सुधार, कार्यकर्ताको सम्मान तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। “कांग्रेस गुट र उपगुटमा अल्झियो, परिवारवादबाट मुक्त हुन सकेन, त्यसैले जनतासँगको दूरी बढ्यो,” थापाले भन्नुभयो।
थापाले ‘जरा अभियान’ मार्फत कांग्रेसलाई फेरि गाउँ–टोलसम्म जोड्ने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई जनताका समस्या र मुद्दासँग प्रत्यक्ष रूपमा जोडिन आग्रह गर्नुभयो।
कार्यक्रममा उहाँले सुकुम्बासी समस्याप्रति सरकारको कार्यशैलीको समेत आलोचना गर्नुभयो। उचित व्यवस्थापन नगरी सुकुम्बासीका घरटहरा भत्काइएकोप्रति आपत्ति जनाउँदै मानवीय संवेदनालाई ख्याल गर्न सरकारसँग आग्रह गर्नुभयो।
त्यसैगरी व्यवसायीहरूलाई दिनदहाडै उठाएर आतंक सिर्जना गरिएको भन्दै उहाँले शान्ति सुरक्षा र कानुनी शासन कायम गर्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कांग्रेस कार्यकर्ता तथा नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गरिएको थियो।

